काठमाडौं ।मलेसियास्थित नेपाली राजदूतावासले रोजगारीको प्रलोभनमा परेर थाइल्यान्ड र सिङ्गापुर हुँदै अवैध माध्यमबाट मलेसिया प्रवेश गर्ने नेपालीको संख्या बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
आइतबार आयोजित साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा दूतावासकी द्वितीय सचिव कुसुम पन्तले केही एजेन्ट तथा चिनजानका व्यक्तिले नेपालीलाई थाइल्यान्डको भ्रमण भिसामा लगेर त्यहाँबाट डुङ्गामार्फत मलेसिया पुर्याउने गरेको जानकारी दिइन्।यस्तो जोखिमपूर्ण र गैरकानुनी बाटो प्रयोग गरेर विदेश नजान दूतावासले नेपाली नागरिकलाई आग्रह गरेको छ। अवैध रूपमा मलेसिया पुगेकासँग आवश्यक भिसा तथा अध्यागमन प्रवेशको प्रमाण नहुन सक्ने भएकाले उनीहरू कानुनी कारबाहीमा पर्नुका साथै रोजगारी खोज्नसमेत कठिनाइ हुन सक्ने दूतावासले जनाएको छ।
यसैबीच, मलेसियाको सुरक्षा क्षेत्रमा कार्यरत नेपाली श्रमिकले भोगिरहेका श्रमसम्बन्धी समस्यामा समेत दूतावासले निगरानी गरिरहेको जनाएको छ। ओभरटाइमको पारिश्रमिक सही रूपमा नपाउने, साप्ताहिक बिदा नदिई लामो समय काममा लगाउने तथा तोकिएको न्यूनतम आधारभूत तलब नदिने जस्ता गुनासो आएको दूतावासले जनाएको हो।रोजगारदाता कम्पनीले दबाबमा पारेर कागजातमा हस्ताक्षर गराउने वा पासपोर्ट आफूसँग राख्ने काम गर्न नपाउने भन्दै दूतावासले नेपाली श्रमिकलाई सचेत गराएको छ। कुनै समस्या आएमा आवश्यक प्रमाण सुरक्षित राखी दूतावासको हटलाइन वा ह्वाट्सएपमार्फत सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
त्यस्तै, सामाजिक सञ्जालमा स्थानीय कानुनविपरीत सामग्री तथा अभिव्यक्ति सार्वजनिक गरेका कारण केही नेपाली पक्राउ परेको जानकारी दिँदै दूतावासले मलेसियाको कानुन र सामाजिक मर्यादाको पालना गर्न आग्रह गरेको छ। विशेषगरी कामको समयमा कम्पनीको पोसाकमै रहेर विवादास्पद वा कानुनविपरीत सामग्री सार्वजनिक नगर्न नेपाली श्रमिकलाई सुझाव दिइएको छ।दूतावासले नयाँ प्रणालीबाट राहदानीका लागि आवेदन दिएका नेपालीको राहदानी वितरण अझै सुरु हुन नसकेको जनाएको छ। द्वितीय सचिव पन्तका अनुसार आवेदन दिएको ५० दिनभन्दा बढी समय बितिसक्दा पनि नयाँ राहदानी दूतावासमा आइपुगेका छैनन्।प्रणाली पूर्ण रूपमा स्थिर भएपछि भने राहदानी नियमित रूपमा करिब ३० देखि ४० दिनभित्र उपलब्ध गराउने व्यवस्था हुने दूतावासले जनाएको छ।