काठमाडौं ।भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी घर निर्माण नभएसम्म सरकारले मासिक आवास खर्च उपलब्ध गराउने भएको छ।
सरकारले चार सदस्यसम्मको परिवारलाई प्रत्येक महिना १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो।सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका छन्।मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले चार जनासम्म सदस्य रहेको परिवारका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। चार जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा भने थप प्रत्येक सदस्यका लागि मासिक दुई हजार रुपैयाँ अतिरिक्त रकम दिइनेछ।
यो सुविधा स्थायी आवास निर्माण सम्पन्न नहुन्जेलसम्मका लागि लागू हुनेछ। सरकारले दिएको रकम घरभाडा तथा दैनिक आवश्यक खर्च व्यवस्थापनमा प्रयोग गर्न सकिने जनाइएको छ।यदि कुनै परिवारले नगद भाडा सुविधा लिन नचाहेमा सरकारले स्थायी घर तयार नहुँदासम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत दिएको छ।मन्त्री तिमिल्सिनाका अनुसार राहत वितरणलाई व्यवस्थित बनाउन प्रभावित परिवारको आवश्यक विवरण संकलन भइरहेको छ। त्यसका लागि सम्बन्धित स्थानीय तहमा तथ्याङ्क संकलन गर्ने फाराम पठाइसकिएको छ।सरकारले बाढी प्रभावित परिवारलाई तत्काल बसोबासको समस्या नहोस् भन्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ।