काठमाडौं । काठमाडौं महानगरपालिकाले विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीका लागि २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ।
यसका लागि महानगरपालिकाले कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट)सँग सम्झौता गरेको छ। सम्झौताअनुसार लक्षित वर्गका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा निःशुल्क उपचार पाउनेछन्। जलन उपचार सेवा सञ्चालनका लागि महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ सहयोग गरेको छ। त्यसमध्ये १ करोड रुपैयाँ जलन उपचार कोषका रूपमा राखिनेछ। यही कोषबाट लक्षित वर्गका प्रत्येक बिरामीको उपचारमा बढीमा २ लाख रुपैयाँसम्म खर्च गरिनेछ। चालु आर्थिक वर्षमा कोषको रकम खर्च हुन नसके बाँकी रकम आगामी वर्षमा पनि जलन उपचारमै प्रयोग गरिने महानगरले जनाएको छ। कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको बताइन्। उनले अस्पताल पुर्याएपछि उपचार खर्च जुटाउन बिरामी वा आफन्तले अस्पताल छाडेर पैसा खोज्न जानुपर्ने अवस्था अन्त्य गर्न कोष स्थापना गरिएको बताइन्।