काठमाडौं । वैदेशिक रोजगारीका लागि रोजगारदाता कम्पनीबाट आउने श्रमिक मागपत्र प्रमाणीकरण प्रक्रियालाई सहज र समयमै सम्पन्न गराउन सरकारले विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई निर्देशन दिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयपछि परराष्ट्र मन्त्रालयमार्फत सबै नेपाली कूटनीतिक नियोगलाई आवश्यक प्रक्रिया छिटो पूरा गर्न पत्राचार गरिएको हो।मन्त्रालयका अनुसार रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिएपछि थप कागजात आवश्यक देखिएमा सम्बन्धित नियोगले आवश्यक कागजातको सम्पूर्ण विवरण एकैपटक उपलब्ध गराउनुपर्नेछ। पटक–पटक फरक–फरक कागजात मागेर प्रक्रिया लम्ब्याउने अवस्था अन्त्य गर्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।त्यसैगरी, मागपत्र प्रमाणीकरणको काम प्रचलित कानुनले तोकेको समयसीमाभित्रै सम्पन्न गर्न पनि नियोगहरूलाई निर्देशन दिइएको छ।
विदेशस्थित नेपाली नियोगबाट मागपत्र प्रमाणीकरण हुन लामो समय लाग्ने तथा आवश्यक कागजातबारे स्पष्ट जानकारी एकैपटक नदिँदा रोजगारदाता कम्पनीलाई समस्या हुने गुनासो बढेपछि सरकारले प्रक्रिया सुधारका लागि यस्तो कदम चालेको हो।सरकारको यो व्यवस्थापछि वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण प्रक्रिया थप व्यवस्थित, पारदर्शी र छिटो हुने अपेक्षा गरिएको छ।