काठमाडाैँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास पछिल्लो समय निकै तीव्र गतिमा भइरहेको भन्दै यस क्षेत्रमा काम गरिरहेका केही अनुसन्धानकर्ता मानव भविष्यलाई लिएर गम्भीर रूपमा डराउन थालेका छन्।
एआई कम्पनी एन्थ्रोपिकमा काम गरेर हालै राजीनामा दिएका अनुसन्धानकर्ता ज्याकोब कोक्सनले विकासको यही गति कायम रहे मानव अस्तित्वमै गम्भीर खतरा आउन सक्ने चेतावनी दिएका छन्। उनले बीबीसीसँग कुरा गर्दै एआईको विकासलाई केही समय सुस्त बनाउन आवश्यक रहेको बताए। कोक्सनका अनुसार एआईले भविष्यमा मानिसको नियन्त्रणबाहिर गएर आफैँ निर्णय गर्न सक्ने अवस्था आउन सक्छ। यस्तो अवस्था आएमा महत्वपूर्ण पूर्वाधारमा साइबर हमला गर्ने, वैज्ञानिक प्रयोगशालामा प्रवेश गरेर घातक भाइरस उत्पादन गर्नेजस्ता जोखिमसमेत निम्तिन सक्ने उनको दाबी छ।
उनले पछिल्लो समय एआई प्रणालीले मानिसको प्रत्यक्ष निर्देशनबिनै जटिल काम गर्न थालेका घटनालाई समेत चिन्ताको विषय मानेका छन्। उनका अनुसार प्रविधि जति शक्तिशाली हुँदै गएको छ, त्यसलाई नियन्त्रण गर्ने चुनौती पनि त्यति नै बढिरहेको छ।एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले पनि एआईको विकासको गति केही कम गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। एआईको सम्भावित जोखिमबारे यसअघि ओपनएआई, गुगल डीपमाइन्ड र एन्थ्रोपिकका प्रमुखहरूले समेत चेतावनी दिँदै आएका छन्।तर प्रविधि क्षेत्रका सबै व्यक्ति भने यस्तो चेतावनीसँग सहमत छैनन्।
केहीले एआईबाट मानव विनाशको सम्भावनालाई बढाइचढाइ गरिएको तर्क गरेका छन्। एनभिडियाका प्रमुख जेन्सेन ह्वाङले एआईका कारण मानवताको अन्त्य हुने धारणा अस्वीकार गरेका छन्।कोक्सन भने एआईप्रति पूर्ण रूपमा निराश छैनन्। उनको भनाइमा सही ढंगले विकास र प्रयोग गर्न सके एआईले रोगको उपचार खोज्न, स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन र मानिसको जीवन सहज बनाउन ठूलो भूमिका खेल्न सक्छ।तर अहिलेको मुख्य चुनौती भनेको एआई कति छिटो विकास गर्नेभन्दा पनि त्यसलाई सुरक्षित र जिम्मेवार ढंगले कसरी विकास गर्ने भन्ने रहेको उनको भनाइ छ।