काठमाडौं । भारत सरकारले बाढीका कारण सडक सम्पर्क विच्छेद भएको क्षेत्रमा पुनः आवतजावत सहज बनाउन नेपाललाई ७० मिटर लामो बेलिब्रिज निर्माणका सामग्री उपलब्ध गराएको छ।
शनिबार हेटौंडामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बेलिब्रिजका सामग्री नेपाल सरकारअन्तर्गत सडक डिभिजनलाई हस्तान्तरण गरे।भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण बेत्रावती क्षेत्रको सडक सञ्जालमा क्षति पुगेपछि यातायात सञ्चालन सहज बनाउन उक्त बेलिब्रिज उपयोगी हुने अपेक्षा गरिएको छ।
हस्तान्तरण कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का संघीय सांसद प्रकाश गौतम, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा तथा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सहभागी थिए।राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत पुल निर्माणका लागि आवश्यक थप सामग्रीसमेत आगामी दिनमा नेपाल आइपुग्ने जानकारी दिएका छन्।