काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीका कारण विभिन्न १२ वटा बैंकका १७ शाखा प्रभावित भएका छन्।
बाढीबाट बैंकिङ क्षेत्रमा मात्रै करिब ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनले उक्त तथ्य सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको एउटा शाखामा भएको छ। उक्त शाखामा मात्रै ६५ करोड रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ।
त्यस्तै, सिटिजन बैंकको एक शाखामा १ करोड ५६ लाख, ग्लोबल आइएमई बैंकको एक शाखामा ११ लाख, हिमालय बैंकको एक शाखामा ७५ लाख र लक्ष्मी सनराइज बैंकको एक शाखामा १ करोड १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। माछापुच्छ्रे बैंकको एक शाखामा ७५ लाख र नबिल बैंकको एक शाखामा ६३ लाख रुपैयाँको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। एनआइसी एसिया बैंकका तीन शाखामा ८८ लाख तथा नेपाल इन्भेष्टमेन्ट बैंकका तीन शाखामा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
एनएमबी बैंकको एक शाखामा ४ लाख, प्रभु बैंकका दुई शाखामा ५३ लाख र सानिमा बैंकको एक शाखामा ६३ लाख रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ। भौगोलिक रूपमा हेर्दा नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार शाखामा मात्रै ६७ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ शाखामा ४ करोड २३ लाख, कालिका गाउँपालिकाको एक शाखामा २८ लाख र उत्तरगया गाउँपालिकाको एक शाखामा ७५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ।
यस बाहेक बैंक तथा वित्तीय सेवासँग सम्बन्धित अन्य क्षेत्रमा थप १९ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ। यसमध्ये विदुरमा ६ करोड ४० लाख, गोसाइँकुण्डमा ९ करोड ५३ लाख, कालिकामा ७९ लाख र उत्तरगया गाउँपालिकामा ३ करोड २३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। बाढीका कारण प्रभावित क्षेत्रमा बैंकका शाखा तथा वित्तीय सेवा सञ्चालनमा समेत असर परेको प्रतिवेदनले औँल्याएको छ।