नुवाकोटको त्रिशूलीमा बाढीले प्रभावित बनाएका परिवारलाई इजरायलले थप राहत सामग्री उपलब्ध गराएको छ। इजरायलको नेपालस्थित दूतावासले विदुर नगरपालिका–२, त्रिशूलीका बाढी प्रभावितलाई आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको हो।
दूतावासकी कार्यवाहक राजदूत जानान बेबार प्रभावित क्षेत्रमै पुगेर बाढीपीडित परिवारलाई आवश्यक सामग्रीसहितका आपत्कालीन ‘गो–ब्याग’ र राहतका बक्स हस्तान्तरण गरिन्।
राहत हस्तान्तरणपछि बेबारले विपत्तिले दिएको सबै पीडा हटाउन नसके पनि प्रभावित समुदायसँगै उभिन र एकअर्कालाई सहयोग गर्न सकिने बताइन्। त्रिशूलीमा बाढीबाट भएको क्षतिको पीडा प्रत्यक्ष महसुस गरेको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा पनि स्थानीय समुदायमा देखिएको मानवीय सहयोग र एकताको प्रशंसा गरिन्।
बाढी प्रभावित समुदायको पुनःस्थापना र पुनःउत्थानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले इजरायलको सहयोगलाई निरन्तरता दिइने बताइन्।
नुवाकोटमा गरिएको पछिल्लो सहयोग इजरायली दूतावासको बाढी प्रभावित क्षेत्रका लागि दोस्रो चरणको राहत हो। यसअघि दूतावासले धादिङको गल्छी गाउँपालिका–६, बैरेनीका बाढी प्रभावित समुदायलाई प्रारम्भिक राहत उपलब्ध गराएको थियो।
दूतावासले प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे सम्बन्धित नेपाली निकायसँग समन्वय गरिरहेको जनाएको छ। राहत तथा पुनःस्थापनाको काम अघि बढ्दै जाँदा पहिचान भएका आवश्यकताअनुसार सहयोग जारी राख्ने पनि दूतावासले जनाएको छ।
-1789197313.jpg)
-1789197313.jpg)