धनुषाको शहीदनगर नगरपालिका–८, साविक ठिला गाउँ विकास समितिका ३८५ परिवारले नापजाँच सम्पन्न भएको करिब पाँच वर्षपछि जग्गाधनी पुर्जा पाएका छन्।
नापी कार्यालय धनुषाले लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो।
विगतमा नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ। पुर्जा प्राप्त गरेसँगै ती परिवारले आफ्नो बसोबास गर्दै आएको जग्गाको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्।
यसअघि सोही नगरपालिकाका वडा नं. ४, ५, ६ र १० का गरी ३ हजार २२६ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो।