काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले शनिबार पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना न्यून रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका केही क्षेत्रमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। शनिबार राति पनि मौसम बदली नै रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने कोशीको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।