काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दुई वटा ठूला ट्रकमा राखिएको अवस्थामा ग्यास नियन्त्रणमा लिएको हो। ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारामा रहेको जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई समेत पक्राउ गरेको छ। ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लुइँटेलले ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले एउटा सिलिन्डरको मूल्य २ हजार ७५० रुपैयाँसम्म लिने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताएका छन्। गैरीगाउँबाट बरामद भएका सबै सिलिन्डर नेपाल ग्यासका रहेको प्रहरीले जनाएको छ। प्रहरीले बरामद ग्यास र पक्राउ परेका लुइँटेलमाथि थप अनुसन्धान अघि बढाएको छ।