काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको परिसरबाहिरै महिलाले शिशु जन्माएको घटनाबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले छानबिन अघि बढाएको छ।
घटनाको वास्तविकता पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ, एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज जाने भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग राईमाझी पनि छानबिन टोलीसँगै स्थलगत अध्ययनका लागि राजविराज जाने भएका छन्।घटनालाई लिएर मन्त्रालयले अस्पताल प्रशासनसँग स्पष्टीकरणसमेत मागेको छ। टोलीले अस्पतालमै पुगेर घटनाको अवस्था, उपचार प्रक्रिया र महिलालाई अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा अध्ययन गर्नेछ।छानबिनबाट कुनै व्यक्ति वा पक्षको लापरबाही पुष्टि भएमा कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ। अस्पताल प्रशासनले पनि घटनाबारे छुट्टै अध्ययन गर्न आन्तरिक छानबिन समिति गठन गर्ने तयारी गरेको छ।स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका सेवाग्राहीलाई कुनै पनि कारणले स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ।