काठमाडौँ । अस्पतालले भर्ना लिन नमानेपछि एक महिलाले सडकको फुटपाथमै बच्चा जन्माउनुपरेको घटना प्रतिनिधिसभामा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले उपचारका लागि भर्ना नलिएपछि राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले फुटपाथमै बच्चा जन्माएको घटना संसद्मा उठाएका हुन्। सांसद कर्णका अनुसार सुत्केरी व्यथा लागेपछि बबिता उपचारका लागि अस्पताल पुगेकी थिइन्। तर उनीसँग पर्याप्त पैसा नभएको भन्दै अस्पतालले भर्ना लिन नमानेको उनले बताए।
बबितासँग २ हजार ५ सय रुपैयाँ मात्रै रहेको र त्यही कारण अस्पतालले भर्ना नगरेको सांसद कर्णको भनाइ छ। अस्पतालबाट उपचार नपाएपछि हरेराम पासवानकी श्रीमती बबिता सडकको फुटपाथमै बच्चा जन्माउन बाध्य भएको उनले बताए। घटनालाई गम्भीर रूपमा उठाउँदै सांसद कर्णले यस विषयमा सरकारसँग जवाफ मागेका छन्। नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउन नसक्ने अवस्था किन आयो भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको माग छ।