काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि विद्यार्थीहरूले सडकमा दाउरा बालेर खाना पकाउँदै विरोध प्रदर्शन गरेका छन्।
अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको गेटअगाडि सडकमा दाउरा बालेर खाना पकाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले सडकमा पकाएको खाना त्यहीँ बसेर खाएका थिए। ग्यासको सहज आपूर्ति हुन नसक्दा डेरामा बस्ने विद्यार्थी तथा सर्वसाधारण दैनिक खाना पकाउनसमेत समस्यामा परेको उनीहरूको भनाइ छ।
अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले डेरामा बस्ने विद्यार्थीलाई घरबेटीले इन्डक्सन चुल्हो प्रयोग गर्न नदिने र कोठाभित्र दाउरा बालेर खाना पकाउने अवस्था नरहेको बताए। उनले सरकार नागरिकका आधारभूत समस्याप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै सुशासनको नारा व्यवहारमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे। सापकोटाले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको भनिए पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाइएको आरोप लगाए। ग्यासको अभाव र मूल्यवृद्धिमा राज्यकै मिलेमतो रहेको दाबी गर्दै उहाँले तत्काल सहज र नियमित आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेकाछन्। विद्यार्थीहरूले ग्यास अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन दाउरा बालेर खाना पकाउने प्रदर्शन गरेका हुन्।