काठमाडाैँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्ना मुद्दा सशक्त रूपमा उठाउनुपर्ने बताएका छन्।
कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै यादवले जलवायु परिवर्तनको असर नेपालजस्ता विकासशील देशले बढी भोग्नुपरेको बताए। शक्तिशाली राष्ट्रहरूले वातावरण प्रदूषण बढाएका कारण त्यसको असर नेपालसहित विकासशील मुलुकमा परेको उनको भनाइ छ। जलवायु परिवर्तनबाट प्रभावित देशले न्याय र क्षतिपूर्ति पाउनुपर्ने भन्दै यादवले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो पक्ष प्रभावकारी रूपमा राख्नुपर्ने बताए। कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष जितेन्द्र सोनलले सरकारको कर नीतिको आलोचना गरे। जनतालाई राहत दिनुको सट्टा सरकारले विभिन्न क्षेत्रमा करको भार थपेको उनको आरोप थियो। कार्यक्रममा जसपा नेपालका स्थानीय नेता, अगुवा कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।