पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर पानी थुनिएपछि आसपासका बस्तीमा उच्च सतर्कता अपनाइएको छ।
खोला लामो समयदेखि थुनिएको सूचना आएपछि प्रहरीले नयाँपुल, वीरेठाँटीलगायतका क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
प्रहरीका अनुसार अहिले पानीको बहाव केही घटेको भए पनि एक्कासि खोला खुल्दा ठूलो बाढी आउन सक्ने जोखिम छ। त्यसैले नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार बिहान करिब ६ बजेदेखि खोला थुनिएको थियो। अहिले खोलामा थोरै मात्र पानी बगिरहेको छ।
किम्रुङ खोलामा यसअघि पनि पहिरो खसेर पानी थुनिएपछि आएको बाढीले वीरेठाँटी क्षेत्रमा सडक र पुलमा क्षति पुर्याएको थियो। घान्द्रुक जाने सडकसमेत प्रभावित छ।
किम्रुङ खोला मोदी खोलामा मिसिने भएकाले खोला अचानक खुल्दा तल्लो तटीय क्षेत्रमा समेत जोखिम हुनसक्ने भन्दै प्रहरीले मोदी खोला आसपासका बस्तीलाई समेत सतर्क रहन आग्रह गरेको छ।