काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पक्की पुल बाढीले क्षतिग्रस्त भएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडकसमेत मर्मतका लागि बन्द गरिने भएको छ।
परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टर सडक मर्मतसम्भार गर्नुपर्ने भएकाले मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडकमा यातायात पूर्ण रूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। बन्द अवधिभर सो सडकखण्ड हुँदै आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक रूपमा धादिङबेँसी–सुनौलो बजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार लगायतका सडक प्रयोग गर्न आग्रह गरेको छ।