काठमाडौं । देशभर अझै मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ, नेपालको पश्चिमी भूभाग नजिक रहेको छ। साथै, उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत प्रभाव नेपालमा परेको महाशाखाले जनाएको छ। मौसममा आएको प्रभावका कारण मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। पहाडी भूभागका धेरै स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।