काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा खसेको ठूलो पहिरो पन्छाउने तथा सडक मर्मत गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ तीव्रता दिइएको छ। नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का अनुसार सो क्षेत्रमा ६ वटा एक्स्काभेटर, एउटा बुल्डोजर, एउटा लोडर र एउटा जेसिबी गरी ९ वटा ठुला मेसिनहरू परिचालन गरेर निरन्तर काम भइरहेको छ।
आयोजनाका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार कटिङ गर्नुपर्ने उचाइ धेरै भएकाले सडकलाई डिजाइन अनुसार स्टेबलाइज गर्दै लैजानुपर्ने बाध्यता रहेको छ। सोही प्रकृतिका कारण पहिरो पन्छाएर सडक पुरानै अवस्थामा फर्काउन र पूर्ण रूपमा सुचारु गराउन अझै ६ देखि ७ दिन लाग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, सम्भव भएसम्म छिटो यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको आयोजनाले जनाएको छ।
यस पटक कृष्णभिरको पहिरो नियन्त्रण र दिगो सडक निर्माणका लागि ’जियोटेक सोसाइटी’ को प्राविधिक सल्लाह तथा डिजाइनमा काम अघि बढाइएको छ। माथिबाट खस्ने पहिरो र तलबाट जमिन भासिने जोखिमलाई सम्बोधन गर्न सिट पाइल, माइक्रो पाइल, ड्रेनेज व्यवस्थापन जस्ता आधुनिक प्रविधिको प्रयोग गरिने इन्जिनियर मिश्रले जानकारी दिएका छन्।
कठिन भौगोलिक बनावट र ठूलो परिमाणमा थुप्रिएको माटोका कारण कार्यसम्पादनमा केही चुनौती थपिए पनि आवश्यक सुरक्षा उपायहरू अपनाएर मर्मत कार्यलाई निरन्तरता दिइएको छ। सडक कटिङ गरी डिजाइन लेभलमा पु¥याएपछि सिट पाइल गाड्ने, ग्राभेल गर्ने र बुलेट पास गर्ने चरणबद्ध कामहरू अघि बढाइनेछ।