काठमाडौँ । नेपाल कानुन आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रगति प्रतिवेदन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसमक्ष पेश गरेको छ। नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ को व्यवस्थाबमोजिम तयार पारिएको उक्त प्रतिवेदन सोमबार मन्त्री गौतममार्फत नेपाल सरकारसमक्ष पेश गरिएको हो।
प्रतिवेदनमा आयोगको संस्थागत परिचय, कानुन सुधारमा खेलिएका भूमिका, वार्षिक कार्यक्रम, कार्यप्रगति, अवसर तथा चुनौती र कार्यान्वयनका सुझावहरू समेटिएका छन्। आयोगका अनुसार आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्म तयार गरिएका कानुनहरूमध्ये ३३ वटा मात्रै हाल कार्यान्वयनमा रहेकाले आगामी दिनमा व्यवहारिक र कार्यान्वयनयोग्य कानुन निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
गत आर्थिक वर्षमा जेनजी आन्दोलनका कारण सिर्जित चुनौतीका बिच भौतिक तथा प्रशासनिक पूर्वाधारमा क्षति पुगे पनि स्थानबाटै कार्यसम्पादन निरन्तर राखिएको प्रतिवेदनमा उल्लेख छ। पुस महिनासम्म पर्याप्त कार्यकक्ष अभाव हुँदा एउटै कोठामा ८ देखि १० जनासम्म कर्मचारीले काम गर्नुपरेको आयोगले जनाएको छ। आव २०८२/८३ मा विनियोजित ४ करोड ६७ लाख रुपैयाँ बजेटमध्ये करिब ७३ प्रतिशत रकम खर्च भएको छ।
प्रतिवेदन ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले कानुन निर्माणका साथै त्यसको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। नागरिकको आवश्यकता र परिस्थितिअनुकूल कार्यान्वयनयोग्य कानुन बनाउन सरकार र आयोगबिच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो। प्रतिवेदनको प्रतिलिपि कानुन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाइनेछ।