काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोमबार साँझ काठमाडौँस्थित नेपाल पर्यटन बोर्डमा दीप प्रज्ज्वलन गरिएको छ। पर्यटन क्षेत्रका सरकारी अधिकारी तथा व्यवसायीहरूको सहभागितामा आयोजित कार्यक्रममा बाढीमा परी बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकहरूको शीघ्र खोजी र सकुशल उद्धारको कामनासमेत गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित उक्त कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डका पदाधिकारी, पर्यटक प्रहरी तथा विभिन्न पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले मृतकहरूप्रति मौनधारण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
भदौ १० मा नेपाल–चीन सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीका कारण रसुवा तथा नुवाकोट क्षेत्रका नदी तटीय बस्ती, सडक, पुल र जलविद्युत् आयोजनाहरूमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। यस विपद्का कारण सो क्षेत्रमा भ्रमणरत स्वदेशी तथा विदेशी पर्यटकहरू र सर्वसाधारण यात्रुहरूसमेत प्रत्यक्ष प्रभावित भएका छन्।
बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको सही अवस्था पहिचान गर्ने, उनीहरूको उद्धार गर्ने र परिवारसँग सम्पर्क स्थापित गराउनेतर्फ पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा प्रभावकारी रूपमा काम गरिरहेको जनाइएको छ।