काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भू–भागमा मध्यमदेखि धेरै भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र डडेल्धुरा जिल्लामा धेरै भारी वर्षा भएको छ।
महाशाखाको अद्यावधिक तथ्याङ्कअनुसार कञ्चनपुरको भम्कास्थित हनुमाननगर स्टेसनमा सबैभन्दा बढी १४१.४ मिलिमिटर वर्षा दर्ता भएको छ। यसैगरी डडेल्धुराको गाईबान्ने स्टेसनमा १२७.८ मिलिमिटर वर्षा मापन गरिएको छ। उता मधेस प्रदेशको सिरहामा पनि ९० मिलिमिटर वर्षा भई भारी वर्षाको सूचीमा दर्ता भएको छ। मौसम विज्ञानको मानकअनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १०० देखि २०० मिलिमिटरसम्म हुनुलाई धेरै भारी वर्षा मानिन्छ।
यसैबिच, आइतबार राति काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा समेत वर्षा भएको थियो। वर्षाका कारण रातिको समयमा उपत्यकाका बागमती र हनुमन्ते लगायतका खोलाहरूमा जलसतह उल्लेख्य रूपमा बढेको थियो। भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले राति खतराको तह पार गरे पनि सोमबार बिहानबाट भने बहाव क्रमशः घट्दो क्रममा रहेको छ।
देशका विभिन्न स्थानमा लगातार भारी तथा धेरै भारी वर्षा भइरहेकाले साना–ठूला नदी तथा खोला तटीय क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढी र डुबानबाट जोगिन उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र सरोकारवाला निकायहरूले आग्रह गरेका छन्।