काठमाडौँ । भारतको सिल्क्यरा सुरुङमा फसेका ४१ मजदुरको सफल उद्धारमा महत्वपूर्ण भूमिका खेलेका अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङमा जारी उद्धार अभियानलाई आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताएका छन्।
नेपालमा स्थलगत रूपमा उद्धार तथा प्राविधिक परामर्श दिइरहेका डिक्सले सामाजिक सञ्जालमार्फत नेपालमा एकैपटक विभिन्न स्थानमा उद्धारका सम्भावना र जोखिमसँग जुध्नुपरेको उल्लेख गरेका छन्। उनका अनुसार हरेक स्थानमा फरक जोखिम र अनिश्चितता रहे पनि जोगाउन सकिने जीवनको सम्भावना भने कायमै छ। सन् २०२३ को सिल्क्यरा उद्धारलाई स्मरण गर्दै डिक्सले नेपालले आफूलाई अझ ठूलो जिम्मेवारी सिकाइरहेको बताएका छन्। कठिन अवस्था र परिणाम अनिश्चित भए पनि सही काममा निरन्तर लागिरहनु नै ‘धर्म’ र कर्तव्य भएको उनको भनाइ छ।
रसुवा बाढीपछि उनले अस्ट्रेलियाबाटै नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक परामर्श दिएका थिए। उनको सुझाव र समन्वयपछि त्रिशूली–३ ‘ए’ को जलमग्न सुरुङबाट १० दिनपछि दुई प्राविधिकलाई जीवितै उद्धार गर्न सम्भव भएको थियो। हाल नेपालमै रहेका डिक्सले बाढी र हिलोले पुरिएका संरचनाभित्र समेत सुरक्षित हावाका ‘पकेट’ हुनसक्ने सम्भावनालाई आधार बनाएर विभिन्न सुरुङमा खोजी तथा उद्धार कार्यलाई निर्देशन दिइरहेका छन्। उनले उद्धार अभियान अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।