नुवाकोट । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नगरवासीका लागि नुवाकोटको विदुर नगरपालिकाले तत्काल प्रतिपरिवार १० हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने निर्णय गरेको छ। भदौ २१ गते बसेको नगर कार्यपालिकाको १३४ औँ बैठकले बाढी प्रभावितहरूको राहत, पुनःस्थापना र विद्यालय सञ्चालनबारे महत्त्वपूर्ण निर्णयहरू गरेको हो।
नगरपालिकाको निर्णयअनुसार बाढीका कारण घर बस्न अयोग्य भई विस्थापित भएका परिवारलाई कोठा वा घर भाडामा लिई बस्नका लागि तत्काल १० हजार रुपैयाँका दरले नगद राहत दिइनेछ। यसका साथै प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट र हाइजिन सेटसमेत उपलब्ध गराइनेछ। सङ्कटको यस घडीमा कोठा वा घर भाडामा दिँदा–लिँदा कसैले प्रचलित दरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ।
विस्थापित नागरिकहरूको दीर्घकालीन पुनःस्थापनाका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्था र दाताहरूसँगको सहकार्यमा अस्थायी आवास निर्माण गर्ने तयारी गरिएको छ। यसैबिच, होल्डिङ सेन्टर सञ्चालनमा नरहेका विद्यालयहरूमा आगामी भदौ २४ गतेदेखि पठनपाठन पुनः सुचारु गरिनेछ। होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका विद्यालयहरूबाट भने विस्थापितहरूलाई केही दिनभित्रै अन्यत्र व्यवस्थापन गरी शैक्षिक सत्र अघि बढाइने नगरपालिकाले जनाएको छ।
यस्तै, विदुर नगरपालिकाभित्रका होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका अन्य जिल्ला तथा पालिकाका बाढीप्रभावित नागरिकहरूलाई उचित व्यवस्थापनका लागि सम्बन्धित जिल्ला र पालिकाहरूलाई आग्रह गर्नेसमेत निर्णय गरिएको छ।
