काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा सरकारले आज (सोमबार) देशभर राष्ट्रिय शोक मनाउँदै छ। प्राकृतिक विपद्मा परी अकालमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक घोषणा गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा २२ भदौमा राष्ट्रिय शोक मनाउने औपचारिक निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज देशभरका सम्पूर्ण सरकारी कार्यालयहरू तथा विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदी करिडोरमा आएको भीषण बाढीका कारण ठूलो परिमाणमा मानवीय तथा भौतिक क्षति पुगेको छ। विपद्का कारण ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गर्दै सरकारले सम्पूर्ण नागरिक तथा निकायहरूलाई एकताबद्ध भई जुध्न र मृतकका परिवारजनप्रति संवेदना प्रकट गर्न अपिल गरेको छ।