काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बदली रही हिमाली तथा पहाडी भू–भागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
अहिले बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो तथा रातिको समयमा तराईका भू–भागमा पनि वर्षाको प्रभाव देखिनेछ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरैजसो स्थानमा तथा बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा मेघगर्जनसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
यसैबिच, महाशाखाले केही प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा भारी वर्षा हुनसक्ने भएकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ।