काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच भेटवार्ता भएको छ।
आइतबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालमा जारी खोज, उद्धार तथा राहत अभियानबारे छलफल भएको हो।भेटका क्रममा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गर्नुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरिया सरकारप्रति धन्यवाद व्यक्त गरेका थिए।मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणलाई दीर्घकालीन र जोखिमप्रतिरोधी बनाउने सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आगामी पुनर्निर्माणका काममा पनि दक्षिण कोरियाबाट निरन्तर सहयोगको अपेक्षा राखेका थिए।जवाफमा दक्षिण कोरियाका विदेशमन्त्री ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माणका लागि सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताएका थिए। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोगिरहेको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका मुद्दामा नेपाल र दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नुपर्ने धारणा राखेका थिए।भेटमा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक बेपत्ता रहेको विषयमा समेत छलफल भएको थियो। उनीहरूको खोज तथा उद्धारको अवस्थाबारे विदेशमन्त्री ह्युनले जानकारी लिएका थिए।दक्षिण कोरियाको कोरिया डिजास्टर रिलिफ टिम हाल नेपालमा उद्धार तथा राहत कार्यमा परिचालित रहेको जनाइएको छ।