सुर्खेत । नेपाल विद्युत् प्राधिकरणको हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा गम्भीर प्राविधिक समस्या आएपछि हुम्ला जिल्लाभर विगत पाँच दिनदेखि विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नरमा खराबी देखिएपछि भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो। स्थानीय स्तरमा उपलब्ध जनशक्तिबाट उक्त समस्या समाधान हुन नसकेकाले मर्मत नसकिएसम्म विद्युत् सेवा ठप्प रहने वितरण केन्द्रले जनाएको छ।
लामो समयसम्म विद्युत् आपूर्ति नहुँदा हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ। सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम एवं साना व्यवसायको कामकाज पूर्ण रूपमा प्रभावित भएको छ। विद्युत् अभावका कारण मोबाइल चार्ज गर्न र इन्टरनेट सेवा सञ्चालन गर्न समेत नसक्दा सञ्चार सम्पर्क विच्छेद हुने जोखिम बढेको छ।
यसैबिच, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले हुम्लामा विद्युत् आपूर्ति तत्काल सुचारु गर्न सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पावर हाउस मर्मत नहुञ्जेल जिल्लामा रहेको डिजेल प्लान्ट तत्काल सञ्चालनमा ल्याउन र मर्मतका लागि दक्ष प्राविधिक खटाउन माग गरेका छन्। “हुम्ली जनता पनि यही राज्यका नागरिक हुन्, उनीहरूलाई आधारभूत सेवासुविधाबाट वञ्चित गरिनु हुँदैन,“ शाहीले भनेका छन्।
प्राधिकरणको हेल्दुङ वितरण केन्द्रका अनुसार वैकल्पिक रूपमा डिजेल प्लान्ट सञ्चालन गर्दा मासिक १० लाख रुपैयाँभन्दा बढी इन्धन खर्च लाग्ने र सो रकम उपलब्ध नहुँदा समस्या परेको छ। यता पटक–पटक यस्तै नियति भोग्दै आएका स्थानीयवासीले भने दीर्घकालीन समाधानका लागि पावर हाउसको नियमित मर्मत, नयाँ उपकरण र आवश्यक प्राविधिक जनशक्तिको स्थायी व्यवस्थापन गर्न जोडदार माग गरेका छन्।