काठमाडौँ । चितवनको रत्ननगरमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–९ स्थित टिकौली जङ्गलमा भएको उक्त सवारी दुर्घटनामा परी ३८ वर्षीय स्कुटर चालक राजकुमार दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको लु प्र.०१–००१ ख ००४५ नम्बरको मिनी ट्रकले विपरीत दिशा भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.३७ प ७०९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। मिनी ट्रकको तीव्र ठक्करबाट स्कुटर चालक दर्जी गम्भीर घाइते भएका थिए।
दुर्घटनालगत्तै उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पु¥याइएका दर्जीको उपचारका क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापश्चात् प्रहरीले मिनी ट्रक र त्यसका चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ का ५० वर्षीय रामेश्वर खरवीन्द्रलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका चालकमाथि सवारी दुर्घटनासम्बन्धी कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।