काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ।
अहिले देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरैजसो स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग एवं लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बादल लागिरहनेछ। देशका हिमाली, पहाडी तथा तराईका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो, बाढी तथा नदीमा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।