काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३४४ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८९८ जना नागरिक अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन् भने ५०१ वटा शवका आंशिक अङ्गहरू फेला परेकाले तिनको पहिचान हुन बाँकी छ।
बेपत्ता रहेका ४ हजार ८९८ जनामध्ये २ हजार ९३० जना नेपाली (२ हजार ४४८ पुरुष र ४८२ महिला) र ६१८ जना विदेशी नागरिक रहेका छन्। अन्य १ हजारर ३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ। तीव्र रूपमा जारी उद्धार कार्यमार्फत हालसम्म प्रभावित क्षेत्रबाट ८ हजार ६३१ जनाको जीवितै उद्धार गरिएको छ, जसमा ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक रहेका छन्। विस्थापित भएका ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरहरूमा सुरक्षित राखिएको छ।
खोज तथा उद्धार कार्यका लागि ७ हजार २१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। विपद् व्यवस्थापन र उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू आफैँ बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अधिकारीहरू अझै सम्पर्कविहीन रहेका छन्।
फेला परेका शवहरूमध्ये १ हजार ३० वटाको जमिनमा गाडेर सुरक्षित व्यवस्थापन गरिएको छ। मृतकहरूको पहिचानका लागि डिएनए (म्ल्ब्) नमुना सङ्कलन कार्यलाई तीव्र पारिएको छ, जसअनुसार हालसम्म १ हजार २६० मृतक र ९७२ आफन्त गरी कुल २ हजार २३२ जनाको डिएनए नमुना सङ्कलन भइसकेको छ। पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण तथा फोटो प्रहरीको आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ।