काठमाडौँ । सामाजिक सञ्जालमार्फत एक महिलालाई ब्ल्याकमेल गरी लाखौँ रुपैयाँ असुल गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले कीर्तिपुरबाट ती युवालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिका, सल्यानथान बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्।
प्रहरीका अनुसार अभियुक्त बुढाले सामाजिक सञ्जालमार्फत ती महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ भनी परिचय दिएका थिए। उनले पीडित महिलाका नग्न तस्बिर तथा भिडियोहरू आफूसँग सुरक्षित रहेको र रकम नदिए ती सामाग्रीहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने भन्दै धम्क्याएर रु. ९ लाख ९५ हजार रकम असुलिसकेका थिए।
पीडितको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई आपराधिक लाभ (ब्ल्याकमेलिङ) सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन्।