काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वसूचना केन्द्रले नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई तत्काल ठूलो बाढी आउन सक्ने भन्ने अपुष्ट र भ्रामक हल्लाको पछि नलग्न सर्वसाधारणलाई आग्रह गरेको छ। क्षेत्रमा हिमताल फुटेर बाढी आउने सम्भावनाबारे आम नागरिकबाट अत्यधिक सोधपुछ र फोन सम्पर्कहरू हुन थालेपछि केन्द्रले ध्यानाकर्षण गराउँदै आधिकारिक सूचना जारी गरेको हो।
केन्द्रका अनुसार नेपालका नदी प्रणाली तथा हिमतालहरूको अवस्थाबारे चिनियाँ समकक्षी निकायहरूसँग निरन्तर र प्रत्यक्ष सम्पर्क स्थापित गरी प्राप्त सूचनाहरूको प्राविधिक अनुगमन भइरहेको छ। हालसम्म प्राप्त भएका सबै प्राविधिक तथ्याङ्क तथा अनुगमनका आधारमा सो क्षेत्रमा तत्काल कुनै पनि ठूलो बाढी आउने सम्भावना देखिएको छैन।
यसैबिच, बाढी पूर्वसूचना केन्द्रले कुनै पनि अपुष्ट, भ्रामक र आधारहीन हल्लाका पछाडि नलाग्न, नआत्तिन र पूर्ण रूपमा संयमित रहन सर्वसाधारणलाई अपिल गरेको छ। यदि भविष्यमा नदीहरूमा बाढीको जोखिम वा कुनै खतराको अवस्था देखिएमा केन्द्रले आफ्नो प्रणालीमार्फत तत्काल प्रभावित क्षेत्रका बासिन्दालाई क्ःक् मार्फत पूर्वसूचना पठाउने स्पष्ट पारेको छ।
बाढी तथा जोखिमसम्बन्धी थप आधिकारिक जानकारी, पूर्वसूचना वा कुनै पनि जिज्ञासा भएमा जल तथा मौसम विज्ञान विभागको टोल–फ्री नम्बर ११५५ (२) मा सिधै सम्पर्क गरी सत्यतथ्य सूचना लिन सकिने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ।