काठमाडौँ । रसुवा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १,२९४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अद्यावधिक विवरण जारी गर्दै बाढी सम्बन्धी भएका उद्धार तथा अन्य विषयमा तथ्याङ्क सार्वजनकि गरेको छ । यसैबिच, शनिवार त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ। बाढीका कारण हालसम्म ५ हजार ५३ जना व्यक्ति सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार २ हजार १३० जना, नुवाकोटबाट २ हजार ३४० जना र ५८३ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण छ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ९५ जनाको सफल उद्धार गरिएको छ। जसमध्ये नेपाली सेनाद्वारा ४ हजार १५७ जना (हवाई उद्धारबाट २६३ विदेशी र ३ हजार ६९४ नेपाली तथा स्थलगत रूपमा २०० जना), नेपाल प्रहरीद्वारा ४ हजार ६८ जना र सशस्त्र प्रहरी बलबाट ४ हजार ८७० जनाको उद्धार गरिएको छ। उद्धार कार्यका लागि नेपाली सेनाले हालसम्म ८८१ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान भरेका छन्। हालसम्म ३०३ जना विदेशी नागरिकको जीवितै उद्धार भइसकेको छ।
बाढीमा परी घाइते भएका ५ हजार ६६३ जनाको उपचार भइरहेको छ, जसमध्ये ३१४ जना विभिन्न अस्पतालमा, ३ हजार २६६ जना नेपाली सेनाको टोलीबाट र २ हजार ८३ जना सशस्त्र प्रहरीको स्वास्थ्य टोलीबाट उपचाररत छन्। फेला परेका १ हजार २९४ शवहरूमध्ये ९६ वटाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ। शवहरू रसुवा (१४०), नुवाकोट (१८४), धादिङ (६७), गोरखा (७३), तनहुँ (३८), नवलपरासी पूर्व (२२१), नवलपरासी पश्चिम (२१२) र चितवन (३५९) लगायतका जिल्लाहरूमा फेला परेका हुन्। रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४ हजार ६२७ जना प्रभावितहरू आश्रित छन्।
विपद्का कारण ७५० वटा निजी घर, ४८ वटा सरकारी संरचना (३५ पूर्ण र १३ आंशिक क्षति), १८ वटा विद्यालय (११ पूर्ण र ७ आंशिक क्षति) र ६ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ। यस्तै ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ भने ३७ वटा मोटरेबल पुल (३३ पूर्ण क्षति) र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुग्दा ३२ हजार ९६३ प्रत्यक्ष प्रभावित भएका छन्। राहतका लागि सरकारले २१ ह्जार ४२१ सुरक्षाकर्मी परिचालन गरी काठमाडौँबाट ७७ ट्रक, ३८ बोलेरो र ९ हेलिकप्टर उडानमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री पठाएको छ। सङ्घीय सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत हस्तान्तरण गरिसकेको छ।