काठमाडौँ । हुलाकमार्फत पार्सल गरी ल्याइएको उच्च गुणस्तरको थाई गाँजासहित चार जनालाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय डिल्लीबजार र विराटनगरको संयुक्त प्रहरी टोलीले नियन्त्रित नियन्त्रण (ऋयलतचय िम्भष्खिभचथ) प्रविधिको प्रयोग गरी १ किलो ९१० ग्राम थाई गाँजासहित दुई जना नेपाली महिला र दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
ब्यूरोका अनुसार भदौ ९ गते थाइल्याण्डबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै इटहरी पठाउन लागिएको शङ्कास्पद पार्सल जाँच गर्दा ९१० ग्राम थाई गाँजा बरामद भएको थियो। उक्त पार्सल बुझ्न आउने मुख्य व्यक्तिलाई पक्राउ गर्न प्रहरीले ‘कन्ट्रोल डेलिभरी’ रणनीति अपनाई इटहरी पठाएको थियो। भदौ १६ गते पार्सल रिसिभ गर्न आएका सुनसरी धरान उपमहानगरपालिका–२० की १९ वर्षीया जेसिका तामाङ र धनकुटा छथरजोरपाटी गाउँपालिका–२ की २५ वर्षीया तारा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
सुरुमा दुई महिला पक्राउ परेपछि उनीहरू बसेको धरान उपमहानगरपालिका–१५ मिलनपथस्थित डेराकोठामा खानतलासी गर्दा प्रहरीले थप १ किलोग्राम थाई गाँजा फेला पारेको थियो। उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी अनुसन्धान अघि बढाउने क्रममा बरामद गाँजा बुझ्न आएका दुई जना भारतीय नागरिकलाई भदौ १९ गते धरान–८ बाट पक्राउ गरिएको हो।
पक्राउ पर्ने भारतीय नागरिकहरूमा भारत केरला राज्यको कन्नोर पञ्चायतका २४ वर्षीय सारोन सुनिल तिया र आलपुर पञ्चायतका २२ वर्षीय अमल आर रहेका छन्। प्रहरीले उनीहरूको साथबाट कुल १ किलो ९१० ग्राम थाई गाँजा र ४ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका सबै जनामाथि इलाका प्रहरी कार्यालय धरान र लागू औषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।