काठमाडौं । रसुवा र नुवाकोट हुँदै बग्ने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको सूचनामार्फत यी क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको हो।महाशाखाका अनुसार भोटेकोशी, त्रिशूलीसहित रसुवा र नुवाकोटका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना छ। अहिले केही नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि जोखिम पूर्ण रूपमा समाप्त नभएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन भनिएको छ।यसअघि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको थियो। त्यसयता भोटेकोशी र त्रिशूलीको बहाव घटेर सतर्कता तहभन्दा तल पुगेको भए पनि मौसम तथा वर्षाको अवस्थाका कारण पुनः जोखिम उत्पन्न हुन सक्ने महाशाखाको आकलन छ।यता कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीलगायत देशका ठूला नदीको बहाव शुक्रबार बिहानसम्म सामान्य अवस्थामा रहेको जनाइएको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्तीमा पनि हाल ठूलो जोखिम देखिएको छैन।तर आगामी तीन दिन अधिकांश प्रमुख नदी र सहायक नदीमा पानीको सतह बढ्ने सम्भावना रहेको छ। देवघाटस्थित नारायणी, बेत्रावतीस्थित त्रिशूली, असाराघाटस्थित कर्णाली र पारिगाउँस्थित महाकालीको जलमापन केन्द्रमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले देशका विभिन्न स्थानमा रहेका साना नदी तथा खोलामा समेत आज बहाव बढ्न सक्ने र कतिपय स्थानमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।ताप्लेजुङ, पाँचथर, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यकाका तीनै जिल्ला, मकवानपुर, चितवन र गोरखामा बाढीको मध्यम जोखिम रहेको बताइएको छ।त्यसैगरी कास्की, म्याग्दी, बागलुङ, सुर्खेत, दैलेख, अछाम, जुम्ला, मुगु, दार्चुला, डडेलधुरा र कञ्चनपुरसहित विभिन्न पहाडी तथा तराई क्षेत्रमा पनि साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ।महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ।
