काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र फसेकामध्ये एक जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। सुरुङभित्र थुप्रिएको ठूलो लेदो, मातो र ढुङ्गा पन्छाउँदै अघि बढेको उद्धार टोलीले शनिवार बिहान ती व्यक्तिको सकुशल उद्धार गर्न सफल भएको हो।
खोजी तथा उद्धार कार्यमा खटिएका प्राविधिक टोलीका अनुसार सुरुङभित्र उद्धारको काम भइरहँदा मानिसको आवाज सुनिएपछि टोलीले तीव्रताका साथ खोजी अघि बढाएको थियो। आयोजनाका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र चिनियाँ प्राविधिकसहितको टोलीले सुरुङभित्रबाट आएको सङ्केत र आवाजका आधारमा खोजी गर्दा एक जनालाई जीवितै फेला पारेको हो।
आयोजनाको १७० मिटर लामो केबल डक्ट टनेलको मुखमा थुप्रिएका ठूला ढुङ्गा (बोल्डर) र लेदो सफा गर्दै सुरुङभित्र प्रवेश गरेको ९३ जनाको संयुक्त टोलीले यो सफलता हासिल गरेको हो। १० दिनसम्म सुरुङको अप्ठ्यारो परिस्थितिमा पनि ती व्यक्ति जीवितै भेटिनुलाई उद्धार टोलीले ठूलो सफलता र चमत्कारका रूपमा लिएको छ।
सुरुङभित्र अन्य व्यक्तिहरूसमेत फसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेना, प्राविधिक र उद्धारकर्मीहरूको टोलीले आधुनिक मेसिनहरूको प्रयोग गरी बाँकी भागमा खोजी तथा सफाइ कार्य निरन्तर जारी राखेको छ।