काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित पेप्सीकोला प्लानिङमा गएराति भीषण आगलागी भएको छ। आगलागीको सूचना प्राप्त हुनासाथ काठमाडौँ महानगरपालिकाको जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछाको नेतृत्वमा तीनवटै युनिटका ३ वटा दमकल, २ वटा पानी ट्याङ्कर र ३० जना अग्नि नियन्त्रकको टोली तत्काल घटनास्थलमा खटिएको थियो।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी तथा छिमेकी पालिकाका दमकल र उद्धारकर्मीहरूसमेत घटनास्थलमा परिचालन गरिएका थिए। आगलागीका क्रममा भित्र रहेका ग्यास सिलिन्डरहरू लहरै पड्किएपछि आगोले क्षणभरमै थप उग्र रूप लिएको थियो।
आगलागीबाट स्थानीय काठमाडौँ क्याफे, बेम्बो कटेज, तरकारी पसल, सेकुवा क्याफे र खाद्यान्न पसलसहित ६ वटाभन्दा बढी घर–टहरा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। समग्रमा आगलागीबाट १० वटा पसल तथा ३ वटा पक्की घरमा क्षति पुगेको छ। काठमाडौँ महानगरको अग्नि नियन्त्रक टोली, सुरक्षा निकाय र स्थानीयवासीको अथक प्रयास एवं समन्वयमा आगो नियन्त्रणमा ल्याइएको हो। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
प्रारम्भिक अध्ययनअनुसार यस्ता घटनाले विपद्पश्चात् नियन्त्रण गर्नुभन्दा आगलागी हुन नदिन पूर्वतयारी गर्नु अत्यावश्यक रहेको पाठ सिकाएको छ। प्रत्येक घर, पसल तथा व्यावसायिक प्रतिष्ठानहरूले ग्यास सिलिन्डर, विद्युतीय उपकरण तथा आगलागीका सम्भावित स्रोतहरूको सुरक्षित व्यवस्थापन, प्राथमिक अग्नि नियन्त्रण सामग्रीको प्रबन्ध र आपत्कालीन तयारी अनिवार्य रूपमा गर्नुपर्ने सुरक्षा निकायहरूले आग्रह गरेका छन्।