काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थानकै आसपासमा रहेको छ। शुक्रबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ।
पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ भने केही क्षेत्रमा भारी वर्षासमेत रेकर्ड गरिएको छ। डोटीको झिग्रानामा ७५.२ मिलिमिटर, डडेलधुराको चौरबन्डालेमा ६६.२ मिलिमिटर, मुगुको मांग्रीमा ६५.२ मिलिमिटर, दैलेखको ग्वाटीमा ६२.६ मिलिमिटर तथा दोलखाको काब्रेमा ५९.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। शुक्रबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा पर्नसक्ने असरलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।