काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचान, डिएएनए नमुना सङ्कलन र व्यवस्थापन गर्ने कार्य तीव्रताका साथ अघि बढाइएको छ। बाढी प्रभावित जिल्लाहरूबाट काठमाडौँ ल्याइएका शवहरू त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि गोकर्णेश्वर नगरपालिकास्थित जङ्गलमा गाडेर व्यवस्थापन भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा थप ११५ वटा शव गाडेर व्यवस्थापन गरिएको छ। यसअघि भदौ १५ गते सोही क्षेत्रमा ४६ वटा शव व्यवस्थापन गरिएको थियो। बाढी प्रभावित जिल्लाहरू रसुवा, धादिङ र नुवाकोटबाट हालसम्म कुल १७५ वटा शव काठमाडौँ ल्याइएकोमा त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम र डिएनए स्याम्पल सङ्कलन गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शिक्षण अस्पतालमा शव भण्डारण गृहको अभाव भएपछि २१ वटा शव पशुपति मन्दिर परिसरस्थित विद्युतीय शवदाह गृहको फ्रिजरमा राखिएको छ।
काठमाडौँ ल्याइएका शवहरूमध्ये हालसम्म १९ वटाको सनाखत भई आफन्तले बुझिलिएका छन्। पहिचान नभएका शवहरूको हकमा सुरक्षाकर्मीले सफा गरी पूर्ण भागको फोटो खिचेर लासजाँच मुचुल्का तयार गर्ने र प्रहरीको आधिकारिक वेबसाइटमा अपलोड गर्ने गरेका छन्। प्रहरी अस्पतालमा मृतकका परिवारका सदस्यहरूको डिएनए प्रोफाइलिङ कार्यसमेत सुरु गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पहिचान हुन नसकेका शवहरूलाई विशेष ’एयर टाइट’ झोलामा ट्याग नम्बरसहित सुरक्षित रूपमा गाड्ने गरिएको छ। डिएएनए नमुना र शवको सङ्केत नम्बर समान राखिने तथा गाडिएको ठाउँका पिल्लरमा समेत ट्याग नम्बर उल्लेख गरिने व्यवस्था मिलाइएको छ। पछि डिएएनए परीक्षणको रिपोर्ट मिलेमा शव उत्खनन गरी आधिकारिक आफन्तलाई हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।