काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र गतिमा अघि बढाइरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत पछिल्लो कार्यप्रगति सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले बाढीपछि हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको र १ हजार २५९ जनाको मृत्यु भएको जानकारी दिएका छन्। उनका अनुसार अझै ५ हजार ८३ जना सम्पर्कविहीन छन्।
प्रभावित नागरिकलाई विभिन्न होल्डिङ सेन्टरमा राखेर खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको उनले बताएका छन्। नुवाकोटका २४ होल्डिङ सेन्टरमा २ हजार ७९६ जना, रसुवाका पाँच सेन्टरमा १९५ जना र काठमाडौंका दुई स्थानमा ३०० जना प्रभावित नागरिकलाई राखिएको प्रधानमन्त्रीको भनाइ छ। रसुवाका विभिन्न क्षेत्रमा दैनिक करिब ४ हजार ५०० जनालाई हेलिकप्टरमार्फत राहत पुर्याइएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सञ्चार, विद्युत्, खानेपानी, सडक, पुल, स्वास्थ्य तथा शैक्षिक पूर्वाधार पुनःस्थापनालाई प्राथमिकता दिइएको बताएका छन्। उनका अनुसार विद्युत् सेवा पुग्न बाँकी घरधुरी ५.७७ प्रतिशत मात्रै छन्।
गल्छी–मुग्लिन सडकखण्डको कृष्णभीरमा सडक सञ्चालनका लागि ट्रयाक खोल्ने काम सुरु भएको र भदौभित्र यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताएका छन्। परेवाभीरमा डाइभर्सन निर्माणपछि यातायात सञ्चालनमा आइसकेको छ।
त्यस्तै, त्रिशूली–वेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटरमा लेदो हटाइसकिएको र बाँकी दुई किलोमिटरमा काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। तादी, बेत्रावती र त्रिशूलीमा बेलिब्रिज निर्माणको काम पनि अघि बढाइएको उनको भनाइ छ।
खोज तथा उद्धारमा नेपाली सेनाको नेतृत्वमा भारत, चीन र कोरियाका विज्ञसमेत परिचालित रहेको उनले जानकारी दिएका छन्। जलविद्युत् आयोजनामा मानिस फसेको आशंकामा खोजी जारी रहेको बताउँदै शाहले चीनको केरुङमा फसेका ११४ नेपालीलाई तातोपानी नाकामार्फत नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताएका छन्।
प्रधानमन्त्री शाहले पछिल्लो विपद्लाई जलवायु परिवर्तनसँग जोड्दै हिमालय क्षेत्रमा बढ्दो जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। नेपालले भोगेको त्रासदीको जवाफ विश्व समुदायसँग खोज्नुपर्ने उनको भनाइ छ।
यसैबीच, भारत, चीन, पाकिस्तान, अमेरिका, अष्ट्रेलिया, यूएई, बेलायतसहित विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट राहत, उद्धार तथा आर्थिक सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा तथा एसियाली विकास बैंकबाट समेत आर्थिक र प्राविधिक सहयोगको प्रतिबद्धता आएको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै सरकार अहोरात्र खटिरहेको दाबी गर्दै नेपाल यो विपद्बाट चाँडै उठ्ने विश्वास व्यक्त गरेका छन्।