काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल) को मुख खुलाउने कार्य तीव्र पारिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सुरुङको भित्री भागका साथै पावर हाउस सुरक्षित हुनसक्ने र भित्र फसेका व्यक्तिहरू जीवितै भेटिन सक्ने झिनो आशाका साथ उद्धार कार्य अघि बढाइएको हो।
नेपाली सेनाको नेतृत्वमा चिनियाँ प्राविधिक टोलीसहित ९३ जनाको संयुक्त टोली अहिले आयोजना स्थलमा परिचालित छ। उद्धारका लागि ५ वटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकर मेसिनको प्रयोग गरिएको छ। सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो फलामका भत्केका संरचना तथा ठूला ढुङ्गाहरू (डेब्रिस) थुप्रिएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटअनुसार अवरोध पन्छाएर सुरुङको माथिल्लो भागबाट करिब ३ फिट मुख खुलाइसकिएको छ। बाटो खुलेसँगै उद्धारकर्मीहरू सुरुङभित्र १५ देखि २० मिटरसम्म प्रवेश गरिसकेका छन्। यद्यपि, भारी मेसिन र एक्स्क्याभेटर भित्र पठाउन सुरुङको पूरै मुख खुलाउनुपर्ने भएकाले बाँकी अवरोध पन्छाउने काम निरन्तर जारी छ।
सुरुङको मुखैमा रहेका ७ वटा ठूला ढुङ्गाहरू (बोल्डर) लाई ब्लास्टिङ गरी फुटाउने तयारी अन्तिम चरणमा पुगेको उद्धार टोलीले जनाएको छ। करिब १७० मिटर लामो यो सुरुङ अहिले माटो र लेदोले भरिएको छ। लेदो सफा गरेर सुरुङ छिचोलेपछि मात्रै भित्र रहेको पावर हाउस लगायत अन्य मुख्य संरचनासम्म पुग्न र वास्तविक क्षतिको विवरण पत्ता लगाउन सकिने आयोजनाले जनाएको छ।