काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेको पाइएको छ। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन्। त्यस्तै भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाका करिब ८६५ जना सम्पर्कविहीन छन्। यस्तै नुवाकोटका १ हजार ५५८, विदेशी नागरिक ५८३ र पर्यटकसँग रहेका १६४ जना नेपाली पनि सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ। जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक पनि सम्पर्कविहीन छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। खोज तथा उद्धारका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना खटिएका छन्।
५ हजारभन्दा बढीको उपचार
बाढी तथा पहिरोबाट प्रभावितमध्ये हालसम्म ५ हजार १३५ जनाले उपचार सेवा पाएको प्राधिकरणले जनाएको छ। विभिन्न अस्पतालमा ३०१, नेपाली सेनामार्फत ३ हजार २०६ र सशस्त्र प्रहरी बलमार्फत १ हजार ६२८ जनाको उपचार गरिएको छ। प्राधिकरणका अनुसार अहिले ३ हजार ९४८ जना ‘होल्डिङ सेन्टर’मा रहेका छन्। बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ। प्रवक्ता महतका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा ३८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ।
दुर्गम क्षेत्रमा हवाई उद्धार
सडक सम्पर्क टुटेका तथा दुर्गम क्षेत्रमा उद्धार र राहत सामग्री पुर्याउन नेपाली सेनाले हवाई माध्यमलाई प्राथमिकतामा राखेको छ। सेनाका अनुसार हालसम्म ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरिएको छ। खोज तथा उद्धारका क्रममा नेपाली सेनाले अहिलेसम्म ७१५ वटा हवाई उडान गरेको छ। बुधबार मात्रै २५ वटा उडान सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै निजी क्षेत्रका हेलिकप्टर तथा अन्य हवाई साधनबाट १२९ वटा उडानमार्फत उद्धार र राहत कार्यमा सहयोग पुगेको छ। सडक सम्पर्कविहीन र दुर्गम क्षेत्रमा हवाई माध्यमबाट मानिसको उद्धारसँगै आवश्यक राहत सामग्री पुर्याउने काम जारी रहेको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी संस्था उद्धार, उपचार र राहत व्यवस्थापनमा सक्रिय छन्। अझै ४ हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजीलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ।