काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजश्वी शेरचनले बाढी प्रभावित रसुवा र नुवाकोटमा स्वास्थ्य संकट निम्तिन सक्ने भन्दै सरकारको तत्काल ध्यानाकर्षण गराएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शेरचनले भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य चौकीसहितका स्वास्थ्य पूर्वाधारमा ठूलो क्षति पुगेको बताइन्। स्वास्थ्य चौकीहरू बग्दा स्थानीय बासिन्दा आधारभूत उपचार सेवाबाट समेत वञ्चित हुनुपरेको उनको भनाइ छ। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले खानेपानी र शौचालयको अभावसमेत गम्भीर बन्दै गएको छ। यस्तो अवस्थाले सरुवा रोग फैलिने तथा महामारीको जोखिम बढ्न सक्ने भन्दै उनले सरकारले तत्काल आवश्यक स्वास्थ्य तथा सरसफाइको व्यवस्था गर्नुपर्ने बताइन्।
सांसद शेरचनले बाढीपीडितलाई भौतिक राहत उपलब्ध गराउनुका साथै उनीहरूको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। विपद्का कारण घर, सम्पत्ति तथा आफन्त गुमाएका नागरिकमा मानसिक तनाव बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। उनले बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोली परिचालन गरी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्।