काठमाडौं । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङमा जारी खोजी अभियानका क्रममा दुई जनाको शव फेला परेको छ।
नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र पुग्न आवश्यक पहुँचमार्ग तयार पारेपछि शव बाहिर निकाल्न सफल भएको हो। बुधबार साँझ निकालिएका दुवै शवलाई नुवाकोटतर्फ लगिएको उद्धार कार्यमा खटिएका सैनिक अधिकारीले बताएका छन्।सुरुङभित्र बेपत्ता व्यक्तिहरूको खोजीका लागि नेपाली सेना र विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ। टोली करिब १ सय ५० मिटरभित्रसम्म पुगेर खोजी गरिरहेको छ।खोजीलाई थप प्रभावकारी बनाउन सुरुङका दुई छुट्टाछुट्टै स्थानमा प्वाल बनाएर पनि उद्धार प्रयास भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।बेपत्ता अन्य व्यक्तिको अवस्थाबारे जानकारी लिन खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइएको छ।