काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न भागमा खसेको पहिरो र बाढीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीलराजमार्ग स्थितिबारे अद्यावधिक विवरण जारी गर्दै केही राजमार्ग एकतर्फी खुलाइएको र केही अझै पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।
काठमाडौँ उपत्यका जोड्ने काठमाडौँ–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसानिमा खसेको पहिरो हटाई यातायात एकतर्फी सुचारु गराइएको छ। त्यसैगरी, बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गको सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुब्रे बलेफीस्थित पहिरो पन्छाएर बिहान ८ः०० बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
धादिङस्थित पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका–१० कृष्णभीरमा खसेको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध बनाएको छ। सोही राजमार्गको गजुरी गाउँपालिका–२ परेवाभीरमा साना गाडी मात्र एक लेनमा सञ्चालन भइरहेका छन् भने बेनीघाट रोराङ–१० ज्वाङखोला र थाक्रे गाउँपालिका–२ कमेरेभीरमा पहिरो हटाई एकतर्फी यातायात सञ्चालन गरिएको छ।
विपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा १० टनसम्मका मालवाहक सवारीसाधन साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालनमा रोक लगाइएको छ भने परिस्थिति हेरेर बिहान ४ः०० बजेदेखि साँझ १८ः०० बजेसम्म अन्य सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
यसैबिच, रसुवाका मुख्य राजमार्ग र त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–८ घण्टेखोलामा बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बेत्रावती–१० सिमटारस्थित पसाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा बन्द छ।
कर्णाली प्रदेशअन्तर्गत मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चास्थित मुगु–गमगढी सडकखण्डमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेकाले यात्रा गर्नुअघि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बुझ्न अनुरोध गरेको छ।