काठमाडौँ । पछिल्लो १२ घण्टाको अवधिमा सिन्धुपाल्चोक र कास्कीका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घ्याङ र भोताङ मौसम मापन केन्द्रमा मापन गरिएको छ।
विभागको तथ्याङ्कअनुसार मेलम्ची घ्याङमा ६४.२ मिलीमिटर र भोताङ मापन केन्द्रमा ६१.४ मिलीमिटर वर्षा भएको छ। यसैगरी, कास्की जिल्लाको घलेखर्कमा ५१.६ मिलीमिटर र मालेपाटन मौसम मापन केन्द्रमा ४५ मिलीमिटर वर्षा दर्ता गरिएको छ।
पछिल्लो १२ घण्टाको अवधिमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा भएको छ। साथै कोशी र कर्णाली प्रदेशका केही स्थानहरूका साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ।
बाढी प्रभावित पहाडी भू–भाग तथा साना नदी तटीय क्षेत्रमा थप कटान र पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।