काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर हराइरहेका मध्ये नेपाली सेनाको टोलीले बुधबार थप ३४ जनाको सकुशल उद्धार गरेको छ। योसँगै बाढी र पहिरो प्रभावित क्षेत्रबाट सेनाले हेलिकप्टर प्रयोग गरी हालसम्म २७३ जना विदेशी नागरिकसहित कुल ३ हजार ९२५ जनाको उद्धार गरिसकेको छ।
नेपाली सेनाद्वारा जारी पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई प्राविधिक टोलीसहित तीव्र पारिएको छ। रसुवागढी हाइड्रोपावरमा सेना र आयोजनाका इन्जिनियरसहितको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगेर खोजी गरिरहेको छ। त्यहाँ थप कार्यलाई गति दिन स्काभेटर ’ड्रप’ गर्ने तयारी भइरहेको सेनाले जनाएको छ। यस्तै, लाङटाङ हाइड्रोपावरमा विदेशीसहित २५ जनाको संयुक्त टोली सुरुङभित्र १५० मिटरसम्म प्रवेश गरी उद्धारमा खटिएको छ।
चिलिमे हाइड्रोपावरमा माउन्टेन एसोसिएसन र विदेशी विज्ञसहितको टोली १५० मिटर भित्र पुगेको छ। त्यहाँ सुरुङ अगाडि बन्द अवस्थामा फेला परेकाले ’साउन्ड डिटेक्टर’ प्रविधि प्रयोग गरी भित्र जीवित व्यक्ति रहे–नरहेको अनुगमन (मोनिटर) भइरहेको छ। अपर त्रिशूली–१ मा सुरुङको मुख ठूला ढुङ्गाले छेकिएकाले भित्र छिर्ने प्रयास भइरहेको छ भने हाकुबेसीमा २६० मिटर भित्रसम्म पुगेर खोजी गर्दा हालसम्म कोही फेला परेका छैनन्। त्यहाँ मेन टनेल, एसेस टनेल–१ र एसेस टनेल–२ हुँदै २६ मिटर पानी भरिएको ‘डिसेन्डर बेसिन’सम्म पुग्दा अगाडिको बाटो बन्द भेटिएको छ।
यसैबिच, त्रिशूली–३ ‘ए’ मा नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीले चारवटा स्काभेटर र बबक्याटको प्रयोग गरी माटो पन्छाउने, कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङमार्फत बाटो खोल्ने काम गरिरहेको छ। सुरुङको आउटलेटमा लेदो भरिएकाले सफा गर्दै चट्टान ब्लास्टिङको काम अघि बढाइएको छ। यस्तै, त्रिशूली–३ ‘बी’ मा ६४ जनाको संयुक्त उद्धार टोलीले बबक्याटको सहायताले आयोजनाको कार्यालय र क्याम्प एरिया पहिचान गरी खोजी कार्य जारी राखेको छ।