काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा बसेको प्रहरी समन्वय समितिको बैठकले उक्त राहत दिने निर्णय गरेको हो।
उक्त आर्थिक सहयोग रकम प्रहरी कर्मचारीहरूका तर्फबाट सङ्कलित कल्याणकारी राहत कोषबाट प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। बैठकले बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गर्ने निर्णय गरेको छ। यसैगरी, प्रभावित परिवारका एक जना इच्छुक सदस्यलाई सीपमूलक तालिम उपलब्ध गराई रोजगारीका लागि आवश्यक पहल गरिनेछ।
दिवङ्गत प्रहरीका सन्ततिहरूको पठनपाठनका लागि आधारभूत तहसम्म पायक पर्ने प्रहरी आवासीय विद्यालयमा र उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय, साँगा काभ्रेमा शिक्षण शुल्क मिनाहा गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाइनेछ। बाढी प्रभावित क्षेत्रका इप्रका टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेँसी र बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्री क्षति भएबापत जनही ५० हजार रुपैयाँ राहत दिने निर्णयसमेत बैठकले गरेको छ।
राष्ट्रिय विपद्को यस घडीमा नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ। प्रहरी कर्मचारीहरूको तलब तथा योगदानबाट सङ्कलित उक्त रकम कोषमा हस्तान्तरण गरिनेछ। प्रभावित परिवारहरूलाई सेवा सुविधा र उपचार प्राप्तिमा सहजीकरण गर्न मानवस्रोत विकास विभागका एक जना सिनियर प्रहरी अधिकृतलाई ‘सम्पर्क व्यक्ति’ (ऋयलतबअत एभचकयल) तोकिएको छ। बाढीमा परी हालसम्म ३ जना प्रहरीको शव फेला परेको र २५ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेकाले खोजी कार्यका लागि विशेषज्ञ टोली परिचालन गरिएको छ।