बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। सुर्नया गाउँपालिका–२ स्थित लिस्किटामा दिउँसो साढे ५ बजेको समयमा जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सतबाजबाट रामकीबरायलतर्फ जाँदै गरेको बाप्र.०३१ च ९३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो। जिपमा सवार कुल ११ जना यात्रुमध्ये सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेहरूमा सुर्नया–२ का ६५ वर्षीय हजारी बिष्ट, ३१ वर्षीया सुशीला भण्डारी र ७ वर्षीया दिप्ती बिष्ट रहेका छन्। यस्तै सुर्नया–६ रिगाकी २० वर्षीया दिपिका कुँवर, सुर्नया–५ स्वालीका ३० वर्षीय हरिस विक, ४३ वर्षीय तिलक चन्द र ३० वर्षीय दिपक चन्द घाइते भएका छन्।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने ६५ वर्षीय हजारी बिष्टको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनालगत्तै जिप चालक सुर्नया गाउँपालिका–५ रौलेश्वरका २८ वर्षीय रोशन बिष्ट भने फरार भएका छन्। फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।